दशैँमा सिगानाकाे सुन्तला 'कोसेली'
बाग्लुङ | असोज १४, २०७९
बागलुङ: सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ ।
सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो ।
दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ ।
अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उहाँले भन्नुभयो, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।”
मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो ।
बेमौसमी सुन्तलाको प्रतिकिलो रु एक सय ८० मा बिक्री हुने गरेको छ । चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ ।
उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो ।
नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो ।
चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका उहाँले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उहाँले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

